‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ
२०८१ माघ ९, बुधवारभक्तपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को माघ ५ गतेबाट शुभारम्भ भएको छ ।
भक्तपुर दरबारस्क्वायमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाच प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना गरिएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीनले नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२५’ सफल पार्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताउनुभयो । नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै नगरप्रमुख प्रजापतिले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वत, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थल नेपालमा रहेकाले यहाँको पर्यटन प्रवद्र्धनमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा रहेका पर्यटकीय स्थलको प्रभावकारी र समयसापेक्ष प्रचारप्रसार नहुँदा आशातित पर्यटक आउन नसकेका उहाँले बताउनुभयो । चिनियाँ पर्यटक भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सङ्ख्यामा दोस्रोमा पर्ने बताउँदै नगरप्रमुख प्रजापतिले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीद्वारा हुने नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गर्नुभयो । अहिले सुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गर्नुभयो । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
