आईटीएफ तेक्वान्दोमा नेपालले हात पार्यो दुई पदक
काठमाडौँ — चीनको हुनान प्रान्तको लूधी सहरमा आयोजित एसियन खुला अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले समान १÷१ रजत र कांस्य पदक जितेको छ ।
तेक्वान्दो आईटीएफ नेपालका प्रशिक्षक गयाजी खड्काले व्यक्तिगत प्याट्रनतर्फ सेमिफाइलनमा मलेसियाका मो चिङ मिङसँग पराजित हुँदै सोमबार कांस्य पदक जितेका हुन् । त्यसअघि उनले ५८ केजीमुनि तौल समूहमा रजत जितेका थिए । उनी फाइनलमा चीनका छाङ ह्युसँग पराजित भएका हुन् । प्रतियोगितामा नेपाल, चीन, मलेसिया, रुस, अफगानिस्तान र अस्ट्रेलियाका खेलाडीको सहभागिता थियो । नेपालकी सस्मिनी बस्नेतले निर्णायकको भूमिका खेलिन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका सह–महासचिव र सिनियर मास्टर माइकल मुलेताले सञ्चालन गरेको तेक्वान्दो मास्टर्स क्लासमा तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । (कास)- प्रकाशन मिति : २०८१/४/३०
