ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
काठमाडौँ, ३० भदौः भाद्र शुक्ल द्वादशी । काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसैगरी गतवर्ष देखि ललितपुरमा पनि इन्द्रजात्रा शुरु गरिएको छ । जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ । मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हँुदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ । अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले जनाउनुभयो । उहाँले भन्नुभयो, “इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो । यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ । लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुआत गरेका छौँ ।” वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ । रासस