काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

काठमाण्डूमा ‘मिनरल वाटर’ र ‘जार’को पानी ढुक्कले खान नसकिने

नेपाल सरकारको खाद्य सुरक्षासम्बन्धी निकायले खास गरी काठमाण्डू उपत्यकाभित्र जारको पानी प्रयोग गर्ने क्रममा उपभोक्तालाई सजग रहन आग्रह गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रमुखले बारम्बारको प्रयोगले ‘जार’को गुणस्तर कमजोर हुँदै जाँदा त्यसबाटै पानी सङ्क्रमित हुने गरेको देखिएको भन्दै केही त्यस्तो सजगता अपनाउन आग्रह गरेकी छिन् । “जारको सफाइमा कमी देखिँदा समस्या देखिन्छ, उत्पादकहरूमा मूल्यलाई लिएर प्रतिस्पर्धा देखिन्छ,” विभागकी महानिर्देशक मतिना जोशी वैद्यले संवाददाता सँग भनिन् । “जार कोरिने बित्तिकै त्यसमा सरसफाइको समस्या हुन्छ र त्यसमा जीवाणुहरू मौलाउने देखिन्छ ।” त्यसले गर्दा अधिकांश अवस्थामा पानीमा झाडापखाला फैलाउन सक्ने ‘ई. कोलाई’ सहितका कोलिफर्म ब्याक्टेरिया देखिने गरेको महानिर्देशक वैद्य बताउँछिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न जिल्लाका ३६ जनामा हैजाको सङ्क्रमण देखिएपछि विभागलाई ‘मिनरल वाटर’ र ‘जार’को पानी पनि ‘पूर्ण रूपमा भर परेर खान नसक्ने आशङ्का लागेको’ भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई बजार जाँच गर्न भनिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बीबीसीलाई भने, “हामीले यो समयमा बजारको जुनसुकै पानी कि त उमालेर वा क्लोरिन ट्याब्लेट प्रयोग गरेर मात्र पिउन भनेका छौँ ।” काठमाण्डू उपत्यकाभित्र मात्र जारको पानी उपलब्ध गराउने झन्डै ३०० ओटा सानाठूला कम्पनीहरू रहेको सरकारी आँकडा छ ।

विभागले हालै सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८०÷८१ मा परेका खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी १७८ वटा मुद्दामध्ये एक चौथाइ प्रशोधित पानीसम्बन्धी रहेको देखिन्छ । यसमा केही साना मिनरल वाटर बारे छन् भने धेरैजसो जारको पानीसम्बन्धी रहेको देखिन्छन् ।

काठमाण्डू लगायत देशका विभिन्न ठाउँमा हैजाको सङ्क्रमण देखिएका बेला जारको पानी समेतका नमुना लिइएको भए पनि त्यसको नतिजा आइनसकेको विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणमा हालै ललितपुरमा २४ र कैलालीमा आठ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसबाहेक प्युठानमा दुई जना एवं काठमाण्डू र भक्तपुरमा एक–एक जनामा हैजा देखिएको थियो ।

पानी जाँच गर्दा पाइने ‘ई. कोलाई’ जस्ता जीवाणु सबैजसो हकमा मानव शरीरलाई हानिकारक भइनहाल्ने भए तापनि त्यसका केही प्रकारले स्वास्थ्यमा नराम्रो असर पार्ने बताइन्छ ।

सामान्यतः पानीमा ब्याक्टेरिया भए नभएको हेरेर पानीको शुद्धता जाँच्ने गरिन्छ । जनावरको पाचननलीमा हुने ‘ई. कोलाई’ ब्याक्टेरिया बाह्य वातावरणमा समेत देखिन सक्छ र मानिसमा सङ्क्रमित भएमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउनुका साथै बिरामी पार्न सक्छ ।

त्यसले झाडापखाला तथा आउँ पर्ने समस्या देखिन सक्ने जोखिम रहन्छ । मानव तथा जनावरको पाचननलीमै हुने कोलिफर्म ब्याक्टेरिया तिनको मलमूत्रमा भेटिन्छ । माटो र वनस्पतिमा समेत पाइने यस ब्याक्टेरियाको केही प्रकारले बिरामी पार्न सक्छ । बीबीसी

  • प्रकाशन मिति : २०८१/४/३०
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य