जनपुरधामलगायत मिथिलाअञ्चलमा पनि गोवर्धनको पूजा सम्पन्न
२०८१/७/२१ बुधबारमहेन्द्रनगर (धनुषा) १७ कातिकः मिथिलाअचञ्ललगायत जनकपुरधाममा गोवर्धन पूजा सम्पन्न भएको छ ।
घरको मुख्यद्वारमा गाईको गोबरवाट गोवर्धनको आकृति बनाएर आज बिहानैदेखि पूजा गर्न थालिएको थियो । सो स्थानमा घरका सबै सदस्य बसेर गीत गाउँदै पूजा गर्ने प्रचलन छ । यहाँ दीपावलीको पूजापछि प्रत्येक वर्ष गोवर्धनको पूजा गर्ने गरिन्छ । भगवान श्रीकृष्णले द्वापर युगमा औलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोर्वद्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । भगवान कृष्ण मिथिलाका ज्वाइँ भगवान रामकै अवतार भएकाले कृष्णसँग जोडिएको हरेक उत्सव जनकपुरधाममा विशेष उत्सवकै रुपमा मनाउने गरिएको उहाँको भनाइ छ । मिथिलाअचञ्लका विभिन्न स्थानमा गाईलाई शृङ्गार गरेर आरती गरिएको छ । गाईलाई फलफूल, सख्खर, मिठाइहरू खुवाइएको छ । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले द्वापरयुगमा समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउने । यो विशुद्ध प्रकृतिको पूजा रहेको सांस्कृतिविद डा भोगेन्द्र झा बताउँछन् । रासस