चाकु र तरुल मानव शरीरका लागि लाभदायक
२०८१ माघ २, बुधवारचाकु र तरुल मानव शरीरका लागि लाभदायक काठमाडौँ: माघे सङ्क्रान्तिमा खाइने घिउ, चाकु, तिलको लड्डु, सख्खर, तरुलले जाडोमा न्यानो राख्न सहयोगी भूमिका खेल्न पोषणविद् डा मनषा थापा ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाकुलाई जाडोमा खाने भनेर प्रकृति र मौसमले दिएको खाद्ययवस्तु हो । यसले शरीरलाई ताप दिन्छ । परम्परागत रूपमा पनि यसको महत्व छ । नेवार समुदायमा सुत्केरी महिलालाई तातो गराउन भातमा चाकु र घिउ राखेर खान दिने गरिन्छ ।”
पोषणविद् पन्तले पनि तरुलमा क्याल्सियम तथा पोटासियम बढीमात्रामा पाइने हुनाले यसले शरीरलाई लाभ पु¥याउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “तरुल कार्बाेहाइड्रेटको स्रोत हो । यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्नुका साथै विभिन्न रोग लाग्नबाट बचाउँछ । चाकुमा आइरन प्रशस्त पाइन्छ, यसमा क्यालोरी पनि हुने भएकाले शरीरलाई सुरक्षा प्रदान गर्छ ।” विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, दीर्घरोगीलाई चिसो लाग्ने सम्भावना बढी हुने भएकाले तातो खानेकुरामा बढी जोड दिनुपर्ने पोषणविद् डा ठकुराठीको भनाइ छ । उहाँले भन्नुभयो, “दैनिक रूपमा खाइने खाद्यवस्तु र झोलिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा खानु हुँदैन । कमजोर तथा छातीमा चिसो लाग्ने बिरामीहरूले त्यस्ता खानेकुरा खानै हुँदैन । यसले घाँटीको एलर्जी हुने खसखसाउने समस्या निम्त्याउँछ । दही खाँदा दिउँसो मात्र खाने गर्नुपर्छ । बिहान वा बेलुका बढी चिसो समयमा खाँदा पाचन प्रक्रियामा गइसकेपछि त्यसले असर गरी पाचन प्रक्रियामा गडबडी हुन सक्छ ।” खानेकुराले नभई व्यक्तिपिच्छे शरीरको प्रक्रिया फरक हुने भएकाले आफूलाई कस्ता खाना खाँदा सुहाउँदो हुन्छ त्यो विचार गरेर खानुपर्ने पोषणविद् डा ठकुराठीले बताउनुभयो । सही खानेकुराको सेवन नगर्दा पेट फुल्ने, ग्यास भरिने, पाचन प्रक्रिया सहज नहुने खालका समस्या जाडोमा बढी देखिने उहाँले उल्लेख गर्नुभयो । पोषणविन्द् पन्तले आफूले कति शारीरिक क्रियाकलाप गरिन्छ सोहीअनुसार खानेकुराको सेवन गर्नुपर्ने बताउनुभयो । “खाने भन्दैमा कुनै पनि खानेकुरा बढी खानुहुँदैन । तिल, आलस, काजु, बदाम, ओखर खानु सन्तुलित रूपमा खानुपर्छ । यी खानेकुराहरूमा क्योलोरी तथा मिनिरिल्सको मात्रा बढी हुने भएकाले दैनिक रूपमा खानु शरीरका लागि उपयुक्त मानिन्छ ।” रासस