अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता

अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता

२०८१ पौष ३, बुधवार

दमौली २९ मङ्सिर : तनहुँको व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा अपाङ्गता भएका व्यक्तिहरूले आज ह्विलचियरमा बसेर बास्केटबल खेलेका छन् । सहृदयी मञ्च नेपाल तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूबीच ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा व्यास र पराशर समूहको सहभागितामा रहेकामा व्यास समूह विजयी भएको छ । प्रतियोगितामा व्यास समूहले १२ र पराशर समूहले आठ अङ्क प्राप्त गरेको छ । अपाङ्गता भएका व्यक्तिहरू खेल खेल्न सक्दैनन् भन्ने आम सोचाइ चिर्नका लागि मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलोपटक बास्केटबल प्रतियोगिता आयोजना गरेका हौँ ।”

प्रतियोगिता उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरू खेल्न सक्दैनन् भन्ने आम सोचाइ चिर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने न्यौपानेको भनाइ थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले शारीरिक अपाङ्गता भएका व्यक्तिहरू पनि खेलकुदमा सक्षम रहेको यस्ता कार्यक्रमले पुष्टि हुने बताउनुभयो ।

व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं व्यास नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरूङले हरेक व्यक्तिले समान अधिकार पाउने संविधानप्रदत्त अधिकार रहेकाले अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमा जोड्ने प्रयास गरिएको बताउनुभयो ।

अपाङ्गत अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका व्यक्तिले खेल्न सक्दैनन् भन्ने मानसिकता चिर्ने प्रयास गरिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिले पनि खेलकुदका गतिविधिमा संलग्न हुन पाउनुपर्छ भनेर स्थानीय तहलाई आग्रह गरिएको उहाँको भनाइ छ ।

रासस

  • प्रकाशन मिति : २०८१ पौष ३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य