राजधानीकै ठूला पसलमा तस्करीको सुन
काठमाडौँ — अन्तर्देशीय संगठित गिरोहले भित्राएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन । विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।
पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुझाएका थिए । आर्थिक वर्ष २०७९÷८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्राएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् । अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सको नाम खुलेको छरु। त्यस्तै जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएसन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारी पनि तस्करीका सुन जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो । भेप र ब्रेक सुलगायतमा लुकाएर गरिएको सुन तस्करीबारे जाँचबुझ गर्न २०८० असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । जाँचबुझका क्रममा व्यक्तिलाई पक्राउ नै गर्नसम्मको अधिकार आयोगलाई थियो । तर सुन पसलबाट भएका गैरकानुनी कारोबारमाथि जाँचबुझ नगरी आयोगले त्यसअघि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन वरिपरि मात्रै अलमलियो । त्यसैले तस्करीबाट आएको सुन कहाँ गयो भन्ने खुट्याउन आयोग पनि असफल भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिर निकालिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा सिनामंगलबाट बरामद गरेको थियो । त्यसमाथि सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० भदौ ३१ मा २९ जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो । सुन तस्करीको अनुसन्धानका क्रममा आरोपित जीवन चलाउनेसहितलाई पक्राउ नगरेको भन्दै जाँचबुझ आयोगले प्रतिवेदनमा उल्लेख गरेपछि गत चैत पहिलो साता सरकारले सीआईबी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धान अधिकृतहरू प्रहरी प्रधान कार्यालय सारिएको थियो भने श्यामलाल ज्ञवाली सीआईबी प्रमुख बनाइएका थिए । (कास)