साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
२०८१ पौष ३, बुधवारकाठमाडौँ, २ पुसः चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।
साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । ‘क्यास्केड मोडल’मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना विसं २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो । कूल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रुपमा बिजुली प्रवाह गरिरहेको थियो । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२÷११ केभी सबस्टेसन निर्माण गरेको थियो । चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब आठ दशमलव पाँच मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । हालै चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन सम्पन्न हुनेबित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
