सातगाउँले जात्रा
२०८१ मङसिर २६, बुधवारसातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।
काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मङ्सिर २५ गते मङ्गलबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउने छन् । आमा विष्णुदेवीलाई भेट्न सन्तानबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीयवासी रश्मिला श्रेष्ठ बताउनुहुन्छ । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिनाश्रृङ्गार बल्खु पुगेकी थिइन् भन्ने भनाइ रहेको छ । मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पिठ्युँ फर्काएर बाहिरै बसेको भन्ने भनाइ पनि यहाँका बुढापाकाले सुनाउने गरेका छन् । यसैकारण बल्खुमा सतुङ्गलकी देवीको रथ बिनागरगहना पहिल्यै पु¥याउने गरिन्छ । मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै फर्काएर राखिन्छ । रथ पु¥याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ । जात्राको मुख्यस्थान बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लू टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकामा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएका थिए । तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको स्थानीय वृद्ध मङ्गल महर्जन बताउनुहुन्छ । परेवा उडेर कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ । नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालिएको र पछि अपभ्रंश भई यस ठाउँलाई बल्खु भनिएको जानकारहरू बताउँछन् । यहाँ वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमातृकाको पूजा गरिन्छ । सातगाउँले जात्रा स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भइसकेको छ । नेपाल भाषामा मुःय भनिने मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा हुने गरेको छ । सिङ्गारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराएर सिन्दूरे जात्रासहित बल्खुमा लगिन्छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
