कला, संस्कृति र सम्पदा संरक्षणका लागि ‘ज्यापू कल्याण तालिम भवन’
पाटन (ललितपुर): कला, संस्कृति र सम्पदा संरक्षणका लागि ज्यापू समाज यलले निर्माण गरेको ज्यापू कल्याण तालिम भवन गत भाद्र १५ देखि सञ्चालनमा आएको छ । उक्त भवनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो ।
चिरीमैं महर्जनले दान दिनुभएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरू र अन्य सङ्घसंस्थाको सहयोगमा उक्त भवन निर्माण गरिएको हो । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका मद्दत गर्ने तालिम सञ्चालन गरिने ज्यापू समाज यलले जनाएको छ । दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको जानकारी गराइएको छ । भवन उद्घाटन कार्यक्रममा महानगर प्रमुख महर्जनले महानगरबाट उपलब्ध हुने सम्पूर्ण तालिम उक्त भवनमै गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि आयोजना गरिने तालिमलाई यस भवनमा प्राथमिकता दिनेछौँ, यस महत्त्वपूर्ण भवन निर्माणका लागि जग्गा दान दिने व्यक्ति र परिवारले पवित्र काम गर्नुभएको छ, उहाँहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।” जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुयाँलले कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि तालिम भवन निर्माण गरेकामा खुसी व्यक्त गर्दै यो पुण्यकर्ममा सहभागी हुनेलाई धन्यवाद दिनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सीप प्रवर्द्धनसँग सम्बन्धित तालिमका लागि भवन निर्माण भएकामा खुशी व्यक्त गर्दै तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राख्नुभयो । ललितपुर महानगर–११ का वडाअध्यक्ष अरोजकुमार खड्गीले आफ्नो वडामा ज्यापू कल्याण तालिम भवन निर्माण भएकामा खुसी व्यक्त गर्नुभयो । तालिम सञ्चालनका लागि समेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्यापू समाज यलका अध्यक्ष तीर्थ महर्जनले ज्यापू कल्याण तालिम भवन सम्पूर्ण महानगरवासीको गौरव भएको बताउनुभयो । यो भवन निर्माणका लागि जग्गा दान दिने चिरीमैं महर्जन र उहाँको परिवारलाई अध्यक्ष महर्जनले धन्यवाद दिनुभयो । भवनलाई मूर्त र अमूर्त सम्पदा संरक्षण, कला, संस्कृति संरक्षणका लागि भरपुर प्रयोग गर्ने वाचा उहाँले गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रेमकृष्ण महर्जन, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता हरिकृष्ण व्यञ्जनकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानपत्र प्रदान गरिएको थियो । रासस