घर भित्र मात्र हइन बाहिर पनि सफा राखौं
२०८१ मङसिर २६, बुधवारआफ्नो घरअगाडि सफा गर्नु आफ्नै दायित्व हो । तर, घरधनीहरु त्यो सोच्दैनन् । बरु आफैं दुर्गन्धित बनाएर अरुलाई समस्यामा पार्छन् । एकदिन सडक सफा गरेर केही हुँदैन् । दिनहुँ गर्नुपर्छ । उपत्यकाबासी शिक्षित छन् । शहर सरसफाइ गर्नुपर्छ भन्ने उनीहरुलाई थाहा छ । फोहोरले रोग लाग्छ भन्ने पनि राम्ररी बुझेका छन् ।
तर, सरसफाइमा उनीहरुलाई चासो छैन् । उल्टै फोहोर पारिदिन्छन् । उपत्यकाबासी व्यक्तिगत स्वार्थमा मात्र रमाउने भए । आफूलाई नपर्दासम्म केही नगर्ने । उपत्यकाबासी बिहान जुरुक्क उठ्छन् अनि मर्निङ वाकमा निस्किन्छन् । काम गर्ने हो भने मर्निङ वाकमा जानै पर्दैन् । हिजो कतिपय मर्निङ वाकमा नगईकन घर सफा गर्न लागिपरेका थिए । अन्य दिन पनि त्यसै गरिदिए उपत्यका सफा हुने थियो । सरसफाइको लागि स्थानीय सरकार नै कुर्नुपर्छ भन्ने छैन् । आफैंले गर्दा हुन्छ । विडम्बना, त्यस्तो सोच भएका कोही छैनन् । हामीले फोहोर उठाउन कर तिरेका छौं, सडक सफा दायित्व सरकारको हो भन्छन् । एकछिन समय निकालेर सफा गर्दा आफ्नो घर वरपर पनि सुन्दर देखिन्छ, यता हिँड्नेलाई पनि सहज हुन्छ । तर, त्यस्तो कसले सोच्ने ? उपत्यकाभित्र एक आनादेखि चार आनासम्म जग्गामा घर बनेका छन् । कतै खाली ठाउँ छोडिएको छैन् । हरियालीको नामोनिशान छैन् । यहाँका घरधनीको खेतबारी छैन् । आम्दानीको स्रोत घर भाडा हो । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म असुल्छन् । एक फ्ल्याटको २० हजारदेखि लाखसम्म लिन्छन् । खाली सटर २० लाखदेखि ५० लाखसम्म खरिदबिक्री हुन्छ । सटर भाडा १५ हजारदेखि लाखौंसम्म छ । घरधनीहरु कोठा भाडामा लगाएर पैसा असुल्ने तर फोहोर व्यवस्थापन नगर्ने । जेपनि सरकारले गरिदिनुपर्ने । उपत्यकाबासी आफूलाई सुकिलामुकिला ठान्छन् । यिनीहरुलाई कुन आधारमा सुकिलामुकिला भन्ने ? नयाँ–नयाँ फेशन फेर्दैमा सुकिलामुकिला बनिन्छ ? उपत्यकाबासीले फोहोर गर्छन् । त्यो फोहोर नुवाकोटस्थित बञ्चरेडाँडामा लगेर फ्याकिन्छ । त्यहाँको स्थानीयको अवस्था उपत्यकाबासीले बुझेका छन् ? त्यहाँको उर्बरा भूमि मरुभूमि बनिसकेको छ । खोलानाला प्रदूषित भएको छ । बस्न नसक्ने अवस्था छ । विभिन्न रोग फैलिरहेको छ । सरकारले बारम्बार फोहोरको वर्गीकरण गर्न आग्रह गरिरहेको छ । तर, उपत्यकाबासी टेर्दैनन् । भात, प्लास्टिक, प्याड सबै एउटै पोको पारेर सडकमा फ्याकिदिन्छन् । यस्तो फोहोरका कारण उपत्यकाभित्रै बस्नेहरु पनि रोगी बनिरहेका छन् । उता, खोलानालामा फोहोर फ्याँक्दा पानी कालो भएको छ । जथाभावी फोहोर फाल्नेलाई कुन मुखले शिक्षित भन्ने ? पढ्दैमा शिक्षित हुँदैन् । पढेको कुरा व्यवहारमा पनि उतार्नुपर्छ । मुखले आफूलाई सफासुग्घर भन्ने तर व्यवहारमा ठ्याक्कै उल्टो ? अन्य मुलुकले फोहोरलाई मोहोर बनाइरहेको छन् । त्यहाँका नागरिकहरुले फोहोरलाई वर्गीकरण गरेर सरकारलाई सहयोग गरिरहेका छन् । तर, यहाँ त पटकपटक आग्रह गर्दा पनि टेर्ने होइनन् ? आफ्नो कारणले अरुलाई असर पुगेको छ कि ? भन्ने उपत्यकाबासी सोच्दैनन् । अनुसा थापा, भक्तपुर