मिति :

चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु

चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु

२०८१ मङसिर ५, बुधवार

चितवन, ३० कात्तिक : नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा आजदेखि चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले चिकित्सकहरूले व्यस्त जीवनशैलीका बाबजुद पनि स्वस्थ बन्नका निम्ति खेलकुद अत्यावश्यकीय हो भन्ने कुरा महसुस गर्दै कार्यक्रम आयोजना गरिएकामा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भरतपुर भ्रमण वर्ष २०२४ आगामी डिसेम्बरमा सम्पन्न हुने बताउँदै भ्रमण वर्षका अवसरमा विभिन्न खेलकुदका गतिविधिहरु गरेको चर्चा गर्नुभयो ।

भरतपुर महानगरपालिकामा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको गौतमबुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको सहयोगमा धमाधम निर्माण भइरहेको भन्दै प्रमुख दाहालले निर्माण सम्पन्न भएपछि ठूलो उल्लासमय ढङ्गबाट देशैभरिबाट खेलाडीहरू ल्याउनका लागि महानगरपालिकाले सक्रिय भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सङ्घ विसं २००७ मा स्थापित नेपालको पुरानो संस्था भएको चर्चा गर्दै चिकित्सकहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराएर नयाँ कामको थालनी गरेको बताउनुभयो । पहिलो पटक यस्तो प्रकारको खेल कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष डा कार्कीले आगामी दिनमा निरन्तरता दिने बताउनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले खेलले स्वास्थ्य मात्र नभएर धैर्यता, भ्रातृत्व जस्ता धेरै कुरा सिकाउने बताउनुभयो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिकित्सकहरूको व्यस्त जीवनमा समय मिलाउन उत्तिकै चुनौतीपूर्ण हुने अवस्थामा यस्तो कार्यक्रम हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपालले स्वागत गर्दै मेडिकल क्षेत्र र खेलकुदको धेरै पुरानो सम्बन्ध रहेको बताउनुभयो ।

सङ्घका महासचिव डा सञ्जीव तिवारी सञ्चालन गर्नुभएको कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

महासचिव डा तिवारीका अनुसार शनिबारसम्म हुने प्रतियोगितामा क्रिक्सल, फुट्सल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने हुनेछन् । प्रतियोगितामा विभिन्न अस्पतालबाट समूहगत तथा व्यक्तिगत रुपमा चिकित्सक, स्वास्थ्यकर्मीहरू सहभागी हुनुभएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर ५, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य