‘वेदान्त–विज्ञान’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
२०८१ मङसिर १२, बुधवारभक्तपुर, ९ मङ्सिरः जीवनको उत्पत्ति र विकासक्रममा ‘वेदान्त र विज्ञानबीच संवाद’ विषयक दुईदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वत सभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शाश्वत संस्था पश्चिम बङ्गाल भारतको आयोजना र अक्षरा स्कुलको सहआयोजना शनिबारदेखि सम्मेलन सुरु भएको थियो । नेपाल, भारत र अमेरिकाका करिब ३० जना आध्यात्मिक चिन्तक एवं विभिन्न विश्वविद्यालका प्राध्यापकहरूद्वारा कार्यपत्र प्रस्तुत गरिएको उक्त सम्मेलनमा नेपाल, भारत र अमेरिकाबाट गरी करिब चार सय ५० जनाको सहभागिता रहेको अक्षरा स्कुलकी कार्यकारी निर्देशक अञ्जु भट्टराईले जानकारी दिनुभयो । नयाँ पुस्तामा सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नहुँदा पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएको भन्दै नयाँ पुस्तामा आफूभित्रको ब्रह्मको पहिचान गराएर अगाडि बढ्न प्रेरणा दिने उद्देश्यले आयोजना गरेको सम्मेलन सफल भएको उहाँले बताउनभयो । त्रिविका प्राध्यापक डा रजनी मल्ल, प्राध्यापक डा मोहन खरेल, चैतन्य सारस्वत संस्थाका डा भक्ति विज्ञान मुनि महाराज, भारतका विभिन्न विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा एमबी जगन्नाधम, डा मोहन राव, प्राध्यापक डा कुमार भान्का, डा सुमङ्गलादेवी दासी, कृष्णकेशव दास, डा रमेशबाबु गोगालगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिका प्रिन्सटनस्थित भक्ति वेदान्त इन्स्टिच्यूटका निर्देशक डा श्रील भक्ति माधव पुरी महाराजले वेदान्तले चेतनालाई सूक्ष्म र भौतिक शरीरलाई स्थूल रूपमा स्वीकारेको चर्चा गर्दै विज्ञानले पनि जीवलगायत पदार्थमा निहित विशेष गुणलाई सूक्ष्म र पदार्थलाई स्थूल मानेकाले वेदान्त र विज्ञानबीच कुनै फरक धारणा नरहेको बताउनुभयो । संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले वेदका ऋचा पाठ गर्नुको अलावा वेदमा रहेका ज्ञानविज्ञानका तथ्य, सभ्यता र संस्कारका कुराको गहिरो अध्ययन हुनुपर्ने बताउनुभयो । प्रसिद्ध न्युरोलोजिस्ट डा जयप्रकाश अग्रवालले कार्यक्रममा परा र अपरा विद्याबारे प्रकाश पार्दै घरपरिवार, समाज तथा शिक्षालयमा लिइने लौकिक विद्या अपरा र अध्यात्म जागरण एवं शान्तिका लागि लिइने अलौकिक विद्या परा विद्या रहेको बताउनुभयो । स्वामी चैतन्य कृष्णले नेपालको उत्तरवाहिनी गण्डकी नदी, गण्डक क्षेत्रमा पाइने शालिग्रामको पवित्रताबारे शास्त्रसम्मत प्रमाण पेस गर्दै नदीहरूमा गण्डकी र शिलाहरूमा शालिग्राम भगवान् श्रीकृष्णको साक्षात् स्वरूप वा अवतार रहेको बताउनुभयो । महर्षि वैदिक विश्वविद्यालय, जवलपुर भारतका उपकुलपति प्राध्यापक प्रमोदकुमार वर्मा, पूर्वसांसद शङ्करप्रसाद पाण्डे, डा गोपीचन्द्र काफ्ले, डा चित्रबहादुर बानियाँ, डा रामप्रसाद अर्याल, डा निर्मलमणि अधिकारी, डा गोविन्दशरण उपाध्याय, प्राज्ञ भरत गिरी, डा उत्तम गिरी, डा दीपेन्द्र पराजुली, डा विन्दु पौडेल, नारायणप्रसाद बराल, प्रकाश तिवारी, पदमप्रसाद पाण्डे, डा अच्युत तिवारी, स्वामी राममणि दास, प्राध्यापक अजयप्रताप सिंहलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आजको समापन कार्यक्रममा पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पत्रकार टीकाराम यात्रीलगायतको उपस्थिति रहेको थियो । रासस