एक हजार धारा जडान गर्दै लहान नगरपालिका

एक हजार धारा जडान गर्दै लहान नगरपालिका

२०८१ मङसिर २६, बुधवार

सिरहा, २४ मङ्सिर: चुरे क्षेत्रका इनार, कुवा र चापाकलमा पानी रसाउन छाडेपछि लहान नगरपालिकाले चालु आर्थिक वर्षमा यहाँका एक हजार घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गर्ने भएको छ ।

नगरपालिकाले ‘वाटर एड’ र दलित जनकल्याण युवा क्लबसँग सहकार्य गरी ‘विकन’ परियोजनामार्फत एक हजार विपन्न तथा दलित परिवारको घरमा निःशुल्क खानेपानी धारा जडान गर्ने तयारी गरेको नगरप्रमुख महेश चौधरीले बताउनुभयो । “नगरका चुरेसँग जोडिएका वडाहरूमा खानेपानी समस्या विकराल छ । हामीले त्यहाँ नेपाल खानेपानी संस्थानको सहकार्यमा आयोजना सञ्चालन गरी एक हजार धारा निःशुल्क जडान गर्ने लक्ष राखेका छौं,” नगरप्रमुख चौधरीले भन्नुभयो, “अघिल्लो वर्षमा नगरको तर्फबाट यहाँका दलित तथा विपन्न समुदायलाई धारा जडानमा आर्थिक सहयोग पनि गरेका छौँ । विस्तारै सबै वडामा खानेपानी पु¥याउने लक्ष्य लिएका छौं ।”

हाल वडा नं. १३, १४, २४, १८, १५, १६ र १७ मा काम भइरहेको उहाँले जानकारी दिनुभयो । लहान नगरमा लालपूर्जा नभएका सुकुम्बासीहरू बढी दलित समुदायका छन् । नगरप्रमुख चौधरीका अनुसार अघिल्लो आवमा उनीहरूलाई सहुलियतमा धारा जडान गरिएको थियो ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार एक सय ४९ धारा जडान भएका छन् । लहान नगरपालिकामा २४ वटा वडा छन् । जसमध्ये १ देखि १० सम्ममा एक सय सात किलोमिटर पाइप जडान गरी धारा जडान गरिएका छन् । वडा नं. २४ मा पछिल्लो सेवा विस्तार गरिएको छ ।

खानेपानी सम्बन्धी काम गरिरहेको विकन परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेको छ । यस परियोजना मार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पु–याउने लक्ष्यसहित कार्य भइरहेको नगरप्रमुख चौधरीको भनाइ छ ।

रासस

  • प्रकाशन मिति : २०८१ मङसिर २६, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य