मानव–वन्यजन्तु द्वन्द्व बढ्यो

मानव–वन्यजन्तु द्वन्द्व बढ्यो

डुम्रे (तनहुँ) : तनहुँमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो समय चितुवाले मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ यता चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

गत असार १२ मा म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगर, विसं २०७९ कात्तिक ४ मा बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङ, विसं २०७९ भदौमा व्यास नगरपालिका–११का डिल्लीमाया गुरुङ र शङ्कर गुरुङका छोरा शङ्करको मृत्यु भएको थियो । उक्त घटनामा गुरुङ दम्पती घाइते भएका थिए ।

विसं २०७९ कात्तिक १५ मा व्यास नगरपालिका–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाका नाति सात वर्षीय अभिनव कुँवर, विसं २०७९ जेठ २९ मा बन्दीपुर गाउँपालिका–१ का भीमलाल गरौजा, विसं २०७८ असोज २५ मा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

डिभिजन वन कार्यालयको तथ्याङ्कानुसार चितुवाको आक्रमणबाट विसं २०७७ साउन २१ मा शुक्लागण्डकी नगरपािलका–२ का नारन राना, विसं २०७६ माघ १३ मा बन्दीपुर गाउँपालिका–४ का ११ वर्षीय इसाक परियार विसं २०७६ पुस २१ मा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिंजाली, विसं २०७६ पुस १३ मा शुक्लागण्डकी नगरपालिका–३ का १९ महिने बालक रविन नेपालीको मृत्यु भइसकेको छ ।

विसं २०७६ कात्तिक ११ भानु नगरपालिका–२ का ऋतिक रोका, विसं २०७६ जेठ २४ मा आठ वर्षीया बालिका पुष्पा अधिकारी र विसं २०७५ मङ्सिर १५ मा १० वर्षीय बालक अमृत गुरुङको चितुवाले ज्यान लियो । चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ मा सोही पालिका वडा नं–१ का कुशल बानियाँको पनि मृत्यु भएको थियो ।

विसं २०७५ कात्तिक २९ मा भानु–४ का चार वर्षीया बालिका रञ्जिता लम्साल र विसं २०७४ फागुन १ मा भानु नगरपालिका–२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । साथै विसं २०७९ असार १ मा बन्दीपुर गाउँपालिका–१ प्युघरका प्रेमबहादुर बगाले मगरका पाँच वर्षीय छोरा सुप्रिम थापाको चिुतवाको आक्रमणबाट घाइते भए ।

सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले भन्नुभयो, “करिब आठ वर्षमा चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चितुवासँगै भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।”

उहाँले विसं २०८० जेठ ४ मा व्यास नगरपालिका–८ का गोरे विक भालुको आक्रमणमा परी घाइते बनाएको बताउनुभयो । उहाँका अनुसार तीनवटा भालु र दुई बाँदरको आक्रमणबाट मानिस घाइते भएका डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चितुवाकै आक्रमणबाट १७ जना घाइते भएका तथ्याङ्कमा छ ।

विश्वकर्माका अनुससार बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुको आक्रमण बढेको हो । उहाँले भन्नुभयो, “मुख्यगरी वन्यजन्तुको आहार वनजङ्गलमा पर्याप्त नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जाँदा मानव–वन्यजन्तु बीचको द्वन्द्व बढेको हो ।”

द्वन्द्व कम गर्न डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकारवालासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा रोपण गर्न प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो । चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई जथाभावी नछाड्न र घर वरपर सरसफाइलाई ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।

विगतमा चितुवाको आक्रमण बढेपछि कार्यालयले क्यामरा ट्रयापिङ गरी अनुगमन गरिएको थियो । जसमा चितुवाबाहेक अन्य वन्यजन्तु नै देखिएका थिएनन् ।

मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन्यजन्तुको आहार, बासस्थानमा खलबल्याउन नहुने उहाँको भनाइ छ । साथै मृग, चित्तल, वनकुखुरा, फलफूल मानिसले सिकार पनि गर्न नहुने उहाँले बताउनुभयो । जङ्गलमा आहार कम भएपछि उनीहरु बस्ती पस्न बाध्य भएको हुनसक्ने उहाँको बुझाइ छ । रासस

  • प्रकाशन मिति : २०८१/५/५