मध्यपुरबाट बिदा भए देवगण
२०८१ पौष १०, बुधवारभक्तपुर, ७ पुसः मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा, नाच प्रदर्शन गरी पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न भएको छ । जात्रा सम्पन्न भएसँगै देवगणहरू आजदेखि बिदा भएका हुन् । गत आइतबार भक्तपुरबाट मध्यपुरथिमि आएका नवदुर्गासहित देवगणहरूले आजसम्म मध्यपुरथिमिको विभिन्न क्षेत्रमा पुगेर नवदुर्गा नाच प्रदर्शन गर्नाका साथै टोलटोलवासीले नवदुर्गालाई दिएको पूजा ग्रहण गरेर आज भक्तपुर फर्किएका देवगणमध्येका कृष्णप्रसाद बनमालाले जानकारी दिनुभयो ।
मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो । उहाँले आज माछा मार्ने जात्रा गरी अन्तमा स्थानीयले नवदुर्गाको पूजा गरी बिदाइ गरेका बताउनुभयो । एक साताको अवधिमा मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारी, नगदेशलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयले पूजा ग्रहण गर्दै आज मध्यपुरथिमिबाट बिदा गरेका उहाँले जानकारी दिनुभयो । नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
