प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु
२०८१ पौष २४, बुधवारभक्तपुर, २० पुसः नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ ।
आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गर्नुभयो । राजनीतिले निःस्वार्थ रूपमा सेवा गर्न सके मात्रै देश समृद्ध बन्ने उहाँले बताउनुभयो । नेमकिपाका केन्द्रीय सचिवसमेत रहनुभएका सुवालले कक्षा १२ सकिनेबित्तिकै युवा विदेशिने भन्दै देशका अशक्त, बुडापाका, महिला मात्रै रहने अवस्था आउने खतरा बढेकाले देशको राजनीति सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारको प्रभावकारी कामले सबै राजनीतिक दलले सिक्ने अवस्था बनाउनुपर्ने भन्दै उहाँले परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बागमती प्रदेशमा पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउँदै यसले प्रदेशभरि धिमे बाजाको संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले एक वर्षभित्र आयोजना गर्न लागिएको नगरकोट महोत्सवको प्रचारप्रसारका साथै धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले आज यो प्रतियोगिताको आयोजना गरेका हौँ । यसले समग्र चाँगुनारायणको पर्यटन, आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउँछ भन्ने विश्वास लिएका छौँ ।” प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने जनाउँदै नगरप्रमुख खत्रीले द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या र सिछ्या एक÷एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमे बाजा र भुछ्या एक÷एक थान प्रदान गरिने उल्लेख गर्नुभयो । सान्त्वना हुनेलाई रु पाँचहजार सहित शिल्ड, प्रमाणपत्र धिमे बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमे बाजा एक थान, उत्कृष्ट छैठौँदेखि १०औँ स्थानसम्मकालाई भुछ्या एक÷एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ । बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न जिल्लाका स्थानीय पालिकाका ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् । चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले धिमे बाजा प्रतियोगिता आयोजना गरिएको चाँगुनारायण–९ ताथलीका वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले बताउनुभयो । उहाँले नगरभित्रका १ देखि ९ वडासम्मका धार्मिक, ऐतिहासिक सम्पदाको अवस्थाबारे जानकारी गराउनुभयो । कार्यक्रममा इतिहास एवं संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गमस्थल चाँगुनारायण रहेको चर्चा गर्दै यहाँ अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदा रहेकाले सबैको सहकार्य र समन्वयबाट ती सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । प्रतियोगिता आज रातिसम्म सकिने जनाउँदै पुरस्कार आइतबार वितरण गरिने आयोजक चाँगुनारायण नगरपालिकाले जनाएको छ । रासस
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
