बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

२०८१ पौष १७, बुधवार

पोखरा, १० पुस: पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो ।

बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ ।

महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन् ।

महोत्सवको स्थानीय संयोजनको जिम्मा फेवा क्लबले लिएको यस महोत्सवमा ‘बिवाइडी’ मुख्य प्रायोजक रहेको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारले प्रवद्र्धकका रुपमा सहयोग गरेका छन् । पोखरा पर्यटन परिषद्ले महोत्सवमा सहकार्य गरेको छ ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन् । पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हटएयर बेलुन उड्न सुरु भएसँगै आकाश रङ्गिन बनेको छ । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन् ।

महोत्सवको ब्राण्ड एम्बासडर राजेश हमाल र प्रियङ्का कार्कीको समेत महोत्सवमा सहभागिता छ । महोत्सव स्थलसम्म जानआउन लेकसाइड डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था मिलाइएको छ । महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा सञ्चालित छ । बिहान ६ देखि ९ बजेसम्म व्यावसायिक उडान हुनेछ ।

साँझ ४ देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुन उडान भर्नेछन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान गर्दै आएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ पौष १७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य