५९ लाख मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान

५९ लाख मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान

२०८१ पौष २४, बुधवार

काठमाडौँ, १९ पुस ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ ।

गत आवको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा मतिना जोशी वैद्यले जानकारी दिनुभयो । “वर्षे र चैते दुवै गरी कूल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कम हो”, उहाँले भन्नुभयो ।

औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिकटनप्रति हेक्टरमा पुगी हालसम्मको उच्च बिन्दु कायम भएको छ । प्रदेशगत रुपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्वि भएको छ । बाँकी तीन प्रदेशमा उत्पादन वृद्वि नकारात्मक रहन गएको मन्त्रालयले जनाएको छ । पछिल्लो विश्लेषणअनुसार रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम हुँदा समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो ।

त्यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापरी उत्पादनमा कमी आएको र लमजुङमा धानबालीको क्षेत्रफलमा कमी हुँदा उत्पादन घटेको प्रवक्ता वैद्यले जानकारी दिनुभयो । पछिल्ला वर्षमाझैँ यसवर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा बढी छ ।

चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र सो अवधिमा औसत वर्षा गत आवको तुलनामा उच्च हुँदा वर्षे धान उत्पादनलाई सहयोग पुगेको मन्त्रालयले जनाएको छ । रासायनिक मल र उन्नत जातको धानको बीउ आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्वि हुँदा पनि धान उत्पादन वृिद्ध भएको जनाइएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ पौष २४, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य