त्रिवि क्रिकेट रङ्गशालाको प्रम सचिवालय टोलीद्वारा निरीक्षण
२०८१ चैत्र १३ , बुधवारकीर्तिपुर (काठमाडौँ) : सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ । कामको प्रगति अनुगमन गर्न आज राति ९ः०० बजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेको थियो । टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताउनुभयो । यसका लागि हामी अहिले जग खन्ने काम थालेका छौँ भन्नुभयो । यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो । कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन् । दिनमा एक सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन् । अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उहाँले बताउनुभयो । सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने भनाइ उहाँको थियो । निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो । रासस
