सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
२०८२ बैशाख २४ , बुधवार
वीरगञ्ज (पर्सा) ः पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ । विगतका वर्षमा मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरुपमा पर्यटकको आवागमन बढ्न नसकेपनि यो चालु आवमा भने पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ । सुनाखरी मध्यवर्ती सामुदायिक घ रबासका अध्यक्ष शम्भुराम पौडेलले चालु आर्थिक वर्षको मङ्सिरदेखि फागुनसम्मको तीन महिनाको अवधिमा ६० जनाभन्दा धेरै चलचित्र छायाङ्कनका कलाकार तथा प्राविधिक बसेकाले पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको आवागमन बढेको जानकारी दिनुभयो ।
‘‘गत आर्थिक वर्षमा करिब एक हजार आठ सय पाहुना आउनुभएको थियो,’’ उहाँले भन्नुभयो,‘‘यो वर्षको वैशाख तेस्रो सातासम्मको अवधिमा करिब तीन हजारको हाराहारीमा पर्यटक भित्रिनुभएको छ । पर्यटकको आवागमन बढेसँगै यहाँका स्थानीय होमस्टे सञ्चालकहरुमा उत्साह बढिरहेको छ ।’’ निर्माता अनुप पौडेलले नेपाली र भोजपुरी भाषामा आधारित ‘इलेफेन्ट इन द फग’ नामक चलचित्र ठोरी गाउँपालिकाको शिकारीबास र आसपासको क्षेत्रमा छायाङ्कन गर्नुभएको थियो । गत आवमा भने यहाँ करिब एक हजार आठ सयको हाराहारीमा पाहुना भित्रिएका थिए । यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ । वीरगञ्ज महानगरक्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्नसमेत पाइन्छ । यहाँ बाघमोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् । यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ । एउटा घरबासमा दुई वटा कोठामा पाहुना बस्ने व्यवस्था छ । सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले प्रदेश सरकारले पर्यटकको लागि घुमाउनको अनुदानमा उपलब्ध गराएको सेतो नम्बर प्लेटको सफारी गाडीको कारणले सार्वजनिक बिदाको दिनमा पर्यटकलाई घुमाउनको लागि समस्या परेको गुनासो गर्नुभयो । ‘‘ पटक–पटक मधेश मन्त्रालयमा धाइसक्यौँ । तर, अहिलेसम्म पनि सो समस्या समाधान हुन सकेको छैन ।’’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँका घरबासमा स्थानीयस्तरमा उत्पादन हुने मकैको विशेष परिकार, लोकल कुखुरा र मकैको ढिँडो पनि पाहुनाले रुचाउने गर्छन् । समूहमा पाहुना आउँदा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छन् । रासस