शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
२०८२ बैशाख १० , बुधवारशुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण शुक्लाफाँटा नगरपालिका– २ ढकनियाँमा ६ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका ५१० परिवार लाभान्वित भएका छन् ।
संघीय सरकार र नगरपालिकाको ५०–५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, २२५ घनमिटरको ट्यांकी, ५१० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन बिच्छ्याउनेलगायत कार्य पूरा भएको छ । उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो । सम्झौताअनुसार ०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो । सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घरघरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिए । रासस