सीप मेलाका प्रशिक्षार्थीलाई रोजगार

सीप मेलाका प्रशिक्षार्थीलाई रोजगार

२०८१ चैत्र २७ , बुधवार

काठमाडौं ः गत वैशाखमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाबाट अटोमोबाइल्स विधामा सीप सिकेका आठ जना प्रशिक्षार्थीलाई सिजी मोटर्सले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने भएको छ ।

ट्रेनिङमा जानेले मासिक रु १८ हजार पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् । यसका लागि आज कामपा, चाँगुनारायण फाउन्डेसन र सिजी मोटर्सबीच सम्झौता भएको छ । सम्झौतामा कामपाको सामाजिक विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र मोटर्सका कार्यकारी निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको हो ।

यसरी छानेर पठाइएका प्रशिक्षार्थीलाई सिजी मोटर्सले सुपरभाइजर वा प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । कामपाले तालिमको प्रभावकारिताका लागि निरीक्षण गर्ने, आपसी संवाद र मूल्याङ्कन गर्नेछ । फाउन्डेसनले कामपाको सहकार्यमा प्रशिक्षार्थी छनोट गर्ने, छानिएका प्रशिक्षार्थीलाई मासिक रु नौ हजार पारिश्रमिक उपलब्ध गराउने छ ।

बाँकी पारिश्रमिक मोटर्सले उपलब्ध गराउने छ । फाउन्डेसनले तालिमको प्रतिवेदन तयार पारेर कामपालाई उपलब्ध गराउनेछ । ट्रेनिङमा पठाउने प्रक्रियाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भन्नुभयो, “ट्रेनिङमा जान इच्छा देखाउनेमध्ये ३० जनालाई सिभी राइटिङ्गो कार्यशाला गरेर व्यक्तिगत विवरण बनाउन सिकाएका थियौँ । उहाँहरूले बनाएको सिभी सिजी मोटर्समा पठाइएको थियो । तीमध्ये २० जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । अन्तर्वार्ता दिएकामध्ये १० जनालाई ट्रेनिङ्का लागि बोलाइएको थियो । उहाँहरूमध्ये आठ जनाले ट्रेनिङ स्वीकार गर्नुभएको हो ।”

कामपाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९)को अवसर पारेर टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिनुभएको थियो । दशवटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । पन्ध्र दिन र ३० दिन अवधिका तालिमबाट दुई हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ ।

तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिसँग सीप मेलाबाट उत्पादन भएका सीपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा सङ्घसंस्थाका प्रतिनिधि आएर सीपयुक्त जनशक्तिसँग भेटेर कुरा गर्नुभएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र २७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य