शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु
२०८२ असाढ ११ , बुधवार

भरतपुर ः भरतपुर–१४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन) सेवा सुरुआत गरेको छ । कलेज अफ मेडिकल साइन्सेस (सिएमएस)को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो । आज भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको शुभारम्भ गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाको लागि डाक्टरको पहुँच उपलब्ध गराउनका लागि सेवा प्रभावकारी हुने अपेक्षा लिइएको छ ।
सिएमएसले सामाजिक उत्तरदायित्व बहनअन्तरगत केन्द्रमा टेलिमेडिसिन सेवालाई अघि बढाएको हो ।
सो अवसरमा महानगर प्रमुख दाहालले यो सेवाले विपन्न नागरिक र समयको चाप हुने विरामीलाई फलदायी हुने बताउनुभयो । यस अघि हप्ताको ६ दिने विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताउनुभयो ।
जनताको स्वास्थ्यभन्दा ठुलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकम गर्दै आएको बताउनुभयो । भरतपुर–१४ मा शिक्षक र आयुर्वेद अस्पताल गरी दुई ठुला सङ्घीय अस्पताल बन्न लागेको उल्लेख गर्नुभयो । यहाँ ३०० शय्य क्षमताको संघीय शिक्षक अस्पताल र १०० शय्याको आयुर्वेद अस्पताल निर्माणको चरणमा रहेको छ ।
शिवनगर स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालको रूपमा घोषणा गरेर सोहीअनुसार काम अघि बढ्ने जानकारी दिनुभयो । महानगर उपप्रमुख चित्रसेन अधिकारीले भर्चुअलबाट विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताउनुभयो । महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उहाँको भनाइ थियो ।
सिएमएसका व्यवस्थापक डा सुदिप केसीले स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज हुने उल्लेख गर्नुभयो । केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको तीन तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसूति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । विसं २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत तीन, पारामेडीक्स नौ, नर्सिङ् आठ, प्रयोगशालाकर्मी चार, फार्मेसिस्ट दुई र रेडियोग्राफर एकसहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।
यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना बिरामी सेवा दिने गरेको छ ।रासस
प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार