पुस्तान्तरणका लागि कर्णालीमा बहुसांस्कृतिक प्रदर्शनी

पुस्तान्तरणका लागि कर्णालीमा बहुसांस्कृतिक प्रदर्शनी

२०८२ जेष्ठ २१ , बुधवार

कर्णाली, १६ जेठः कर्णाली प्रदेश सरकारले यहाँको कला, सीप र मौलिक संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणका लागि बहुसांस्कृतिक प्रदर्शनी गरेको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा बहुसांस्कृतिक प्रदर्शनी आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको भाषा, संस्कृति, कला, साहित्य, वेशभूषाको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले बहुसांस्कृतिक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको धारणा राख्नुभयो ।

प्रदर्शनीमा विद्यालय तहका बालबालिकाबीच कलात्मक प्रतिस्पर्धा भएको भन्दै यसले बालप्रतिभा प्रष्फुटन हुनुका साथै मौलिक संस्कृति र परम्परा पुस्तान्तरणमा सहयोग पुग्ने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गर्नुभयो । “प्रदर्शनीमा हाम्रो इतिहास र वर्तमान अवस्था झल्काउने मौलिक, परम्पररागत संस्कृति प्र्रस्तुति गरिएको छ”, उहाँले भन्नुभयो, “यसले हाम्रो सभ्यता र मौलिक संस्कारको उजागर गरेको छभने विद्यालयतहका बालबालिकाबीच भएको कलात्मक प्रतिस्पर्धाले पुस्तान्तरणमा सहयोग पुर्याएको छ ।” यस्ता कार्यक्रमले हाम्रो पहिचान र अस्तित्व बचाइराख्ने उहाँको भनाइ छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै नवीन प्रतिभा पहिचान गर्ने उद्देश्यले मन्त्रालयले बहुसांस्कृतिक प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । योजनाबद्ध रूपमा बहुसांस्कृतिक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले प्रदेशअन्तर्गत प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनी कार्यक्रममा यहाँका १७ विद्यालयका बालबालिकाले सहभागिता जनाएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकासमन्त्री भण्डारीले सहभागी बालबालिकाले हुड्के, कौडा, साकेला, घाटु, सिङ्गारु, झ्याउरे, टप्पा, मारुनी, तामाङ सेला, भोटे, धिमाल, सोरठी, ताण्डवलगायत मौलिक नृत्य प्रस्तुत गरेका जानकारी दिनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ २१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य