‘पर्वतीय पर्यटन प्रवद्र्धनमा राससको तस्बिर प्रदर्शनी उपयोगी’
२०८२ जेष्ठ २८ , बुधवारकाठमाडौँ ः नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पाले राससको तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष शेर्पाले तस्बिर हेरेपछि जो कोहीलाई पनि गन्तव्यमा पुग्न प्रेरित गर्ने बताउनुभयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, “राससको तस्बिर प्रदर्शनी अवलोकन गर्दा एकपटक जो कोहीलाई ती गन्तव्यमा पुग्नैपर्ने प्रभाव पर्छ फेरि जाउँ–जाउँ लाग्ने रहेछ । पूर्वदेखि पश्चिमसम्मका आकर्षक हिमालय क्षेत्रलाई समेटेर प्रदर्शनी गरिएको रहेछ । तस्बिर सङ्कलन एकदमै राम्रो लाग्यो । महत्वपूर्ण फोटो प्रदर्शनी अवलोकन गर्ने अवसर जुराई दिनुभएकामा रासस परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ” उहाँले प्रदर्शित तस्बिरहरुले महत्वपूर्ण ठाउँहरुमा मानिसलाई प्रत्यक्ष साक्षात्कारको अनुभूति दिलाउने किसिमको रहेको भन्दै यसले समग्र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । “हामीले बोल्दा र कुराकानी गर्दा मात्रै हिमालको कुरालाई महत्व दिएका छौँ”, उहाँले भन्नुभयो, “ती हिमाललाई अझ बढी व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास र प्रवद्र्धन गर्न सबै लाग्नुपर्छ । गन्तव्यमा पुग्ने सडक सञ्जाल, हवाई सम्पर्क सञ्जाल विस्तार र आधारभूत पर्यटकीय पूर्वाधार विकास गर्नेतर्फ सरकारले लगानी गरेर गरेर गन्तव्य प्रवद्र्धन गर्न सकेको खण्डमा नेपालको भविष्य सुन्दर छ ।” एनएमएका अध्यक्ष शेर्पाले हिमाल र हिमाल आरोहीसम्बन्धी गतिविधिलाई प्रवद्र्धनका लागि राससले गरेको यो योगदान महत्वपूर्ण रहेका उल्लेख गर्दै यसका लागि सङ्घ, समग्र हिमाली समुदाय र व्यक्तिगत रुपमा हार्दिक धन्यवाद दिनुभयो । एनएमएका महासचिव मोहन लम्सालले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि राससले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एनएमएको टिमलाई बोलाएर माउन्टेन टुरिजमसम्बन्धी तस्बिरहरु देख्न पाउँदा गर्व लाग्यो । गर्वलायक तस्बिर प्रदर्शनीमा राखिएका छन् । यस्ता किसिमका कार्यक्रम एनएमए, राससलगायत संस्थाले संयुक्त रुपमा गर्न सकिन्छ । राससको यो सराहनीय कार्यको म खुरेर प्रशंसा गर्न चाहन्छ ।” राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिरले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र प्राप्तिपछि केही भएको छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनी सान्दर्भिक हुने उल्लेख गर्नुभयो । तस्बिर अवलोकनका लागि एनएमएका अध्यक्ष शेर्पा, वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लम्साल रासस केन्द्रीय कार्यालय आउनुभएको थियो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् । रासस