नगरकोट भ्रमण वर्षः सफल पार्न ऐक्यबद्धता
२०८१ चैत्र २७ , बुधवारभक्तपुर ः आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले नगरकोटमा गत २३ गते संयुक्त रुपमा आयोजना गरेको भक्तपुर, काठमाडौँ, काभ्रेपलाञ्चोकका तीन जिल्ला समन्वय समिति र नगरपालिकाको प्रमुख एवं प्रतिनिधिबीच भएको भ्रमण वर्षबारे छलफल कार्यक्रममा सहभागी प्रमुखहरुले भ्रमण वर्षलाई एक वर्षभरि नै भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वप्रदेशसभा सदस्य राजु विष्टले नगरकोट भ्रमण वर्षले नगरकोटसँग जोडिएको तीन जिल्ला र चार नगरपालिकाको पर्यटन विकासमा ठूलो टेवा पुर्याउने बताउनुभयो । उहाँले बौद्ध जोरपाटीबाट शङ्करापुर, नगरकोट हुँदै धुलिखेलसम्म जाने सडक, नगरकोटबाट कात्तिके बजार जाने सडक मार्गबाट आन्तरिक पर्यटकको विकासमा यसले टेवा पुर्याउने बताउनुभयो । शङ्खरापुर नगरपालिकाले भ्रमण वर्ष सफल पार्न समान साझेदारीसँगै विभिन्न कार्यक्रम आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा बाग्मती प्रदेशसभाका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कञ्चनवादे श्रेष्ठले नगरकोट मात्रै नभई चारवटै पालिकाकाको पर्यटन विकास गर्न नगरकोट आवतजावत गर्ने ११ वटा नाका एवं सडकको प्रचार गर्नुपर्ने बताउनुभयो । नगरकोट आउने पर्यटकको यात्रा र बसाइ लम्ब्याउन विभिन्न नयाँ कार्यक्रमसँगै नगरकोट–धुलिखेल साइकल मार्ग सञ्चालनमा ल्याउनुपर्ने औँल्याउनुभयो । जिल्ला समन्वय समितिका प्रमुखहरुका तर्फबाट दीपककुमार गौतमले विश्वमा नगरकोटको नामबाट चिनिने नगरकोट भ्रमण वर्ष सफल भएमात्रै नेपाल भ्रमण हुने बताउँदै नगरकोट आएका सडकदेखि विभिन्न चुनौतीलाई चिर्दै भ्रमण वर्ष सफल पार्न तीनवटै जिल्ला समन्वय समितिले भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरुका तर्फबाट भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सामान्य परिवारदेखि मध्यम वर्गीय परिवारसम्म नगरकोट आएर बस्न सक्ने गरी प्याकेज सर्वजनिक गर्नुपर्ने भन्दै तीन तहका सरकारसँग समन्वय गर्दै भ्रमण वर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो । नगरकोट आएर एक रात बस्छु भन्ने जोकोही नेपालीले सहजै बस्न र खान सक्ने गरी प्याकेज ल्याउन सकेमात्रै भ्रमण वर्षमा निम्न, मध्यम र उच्च वर्गका व्यक्तिको पारिवारिक भ्रमण राख्न सकिने उहाँले बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्ष सफल पार्न तीनवटै जिल्लाका प्रमुखहरुले सुरक्षा व्यवस्थादेखि आवश्यक सहयोग गर्ने बताउनुभयो । उद्योग–व्यवसायी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेमकिपालगायत पार्टीका नेताहरुले नगरकोट भ्रमण वर्ष सफल पार्न सबै निकायले सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।रासस