मनाइयो ग्याल्पो (ग्याल्बो) ल्होसार

मनाइयो ग्याल्पो (ग्याल्बो) ल्होसार

२०८१ फाल्गुन २१, बुधवार

काठमाडौँ : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो (ग्याल्बो) ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार आज ड्रागन (मेघ) वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गरेर मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो (ग्याल्बो) ल्होसारलाई विभाजन गरिएको छ । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ । आजदेखि शेर्पा समुदायको २१५२औँ साल सुरू भएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाउन परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

यस अवसरमा बौद्ध स्तुप र शेर्पा सेवा केन्द्रमा पूजा आजा गरिएको छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं भेषभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना गरिएको थियो । आज सुरू भएको ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन् ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन २१, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य