मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष
२०८२ बैशाख १७ , बुधवारकाठमाडौँ ः ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहनुभएको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । मह जोडीका रुपमा उहाँहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उहाँहरू दुईको इमान्दारिताको उदाहरण हो । यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाउनुभयो । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हावी हुन् दिएनन् । फलतः सहकार्यको झण्डै आधा शताब्दी कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ । रासस