मधेसको कथामा चलचित्र ‘प्रतिवैरम्’
२०८२ जेष्ठ ७ , बुधवारधनुषा ः निर्देशक रोशन दासले मधेसको कथामा आधारित चलचित्र प्रतिवैरम् निर्माण गर्दै हुनुहुन्छ । आज चलचित्रको पोस्टर सार्वजनिक गर्दै उहाँले मधेसको मौलिक संस्कृति र परिवेशमा आधारित भएर कथा समेटिएको बताउनुभयो ।
मधेसमा मनाइने भाइबहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको सामा–चकेवा पर्वलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिने निर्देशक दासले जानकारी दिनुभयो । “पारिवारिक कथामा आधारित उक्त चलचित्रको सार्वजनिक पोस्टरमा रावणको पृष्ठभूमिसहित अगाडि एक व्यक्ति उभिएको दृश्य देखाइएको छ, जसले कथावस्तुबारे सङ्केत गर्छ”, उहाँले भन्नुभयो । यसअघि निर्देशक दासले सामाजिक तथा पारिवारिक वेबसिरिज आरती र गीति चलचित्र आफ्नै स्वार्थ, आदत, रङ कडालगायत निर्माण गरिक्नुभएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता सम्राट दास रहनुभएको छ । निर्देशकका अनुसार यो चलचित्रबाट सम्राटले अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ । उहाँसँगै रमेश बुढाथोकी, नवीन श्रेष्ठ, अलिशा बास्कोटा, वीरेन्द्र कुशवाहा, सुप्रग्या शर्मा, रोनि यादवलगायत कलाकार चलचित्र रहनेछन् । “मधेसको कथामा बन्ने यस चलचित्रमा यहाँको वास्तविक सौन्दर्य र समस्या समेट्ने प्रयास गरेका छौँ”, दासले भन्नुभयो, “हामीले सामाजिकसँगै राजनीतिक विषयवस्तुलाई समेटेर चलचित्र बनाउन लागेका हौँ ।” प्रतिवैरम् रेज इन्टरटेनमेन्टको ब्यानरमा किङ्स वाइटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्यमा चलचित्र निर्माण हुँदैछ । कथावस्तु निर्देशक दासले आफैँ लेख्नुभएको छभने पटकथा लेखनमा युवराज भट्टराईले र छायाङ्कन नीरज कँडेलले गर्दै हुनुहुन्छ । निर्देशक दासका अनुसार चलचित्रमा थप केही कलाकारको नाम यथाशीघ्र सार्वजनिक गरिनेछ । “हामीले नयाँ अनुहारसँगै केही अनुभवी कलाकारलाई यस चलचित्रमा समेटेका छौँ । ती कलाकारलाई यथाशीघ्र सार्वजनिक गर्नेछौँ”, उहाँले भन्नुभयो । यसै वर्षको अन्त्यतिर चलचित्र प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माताको भनाइ छ । रासस