मदनभण्डारी रोड रेस प्रतियोगिता सम्पन्न
२०८२ बैशाख २४ , बुधवारकाठमाडौँ ः मदनभण्डारी स्पोर्टस् एकेडेमीले गत १८ गते काठमाडौँमा सडक दौड (रोड रेस) प्रतिगोगिता गरेको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एकेडेमीले ‘मदन भण्डारी रोड रेस प्रतियोगिता २०८२’ मा तीन हजारभन्दा बढी जनाले भाग लिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताका १० किलोमिटर खुला दौडको पुरुषतर्फ मुकेश पाल प्रथम, राजन रोकाय द्वितीय र सुशील शाही तृतीय तथा महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, निर्मल केसी द्वितीय र सिर्जना पाण्डे तृतीय भए । यस्तै १८ वर्षमुनिको पाँच किलोमिटर दौडको छात्रतर्फ बादल कार्की प्रथम, कृष्ण परियार द्वितीय र अमृत विश्वकर्मा तृतीय छात्रातर्फ अस्मिता भुजेल प्रथम, भगवती खड्का द्वितीय र शर्मिला विक तृतीय भए । विजयीमध्ये खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार तथा १८ वर्षमुनितर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २०, १५, १० हजार नगद, शिल्ड र प्रमाणपत्रसहित युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदान गर्नुभयो । खुलातर्फ उत्कृष्ट पाँच र १८ वर्षमुनिका उत्कृष्ट १० लाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । दशरथ रङ्गशालाबाट सुरु भएको दौड राजधानीका विभिन्न भाग परिक्रमा गरी रङ्गशालामै पुगेर समापन भएको थियो । प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री चौधरीले खेलकुदको विकासले सबै पक्षमा सकारात्मक योगदान पुग्ने बताउनुभयो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा नेपाल एथलेटिक्स सङ्घका संयोजक राजीवविक्रम शाह, एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धुव्र आचार्य, कार्यक्रम संयोजक तथा एकेडेमीका बागमती अध्यक्ष राम केसीलगायतले प्रतियोगिताले खेलकुद क्षेत्रमा जागरण पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । एकेडेमीका अध्यक्ष आचार्यले हरेक प्रदेशमा रोड रेस प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । विगत तीन वर्षदेखि एकेडेमीले अन्तरराष्ट्रिय श्रमिक दिवसमा रोड रेस गर्दै आइरहेको छ । रासस