किरियापुत्रीसहित बहुउद्देश्यीय भवन निर्माणार्थ महायज्ञ
२०८२ जेष्ठ ७ , बुधवारभक्तपुर ः किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय अधुरो भवनलाई पूर्णता दिन रु दुई करोड दान सङ्कलन गर्ने उद्देश्यले भक्तपुरको गट्ठाघरमा यही जेठ ४ गतेदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । सनातन पितृमुक्ति समाजले आज महायज्ञस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिका लागि १३ दिनसम्म किरियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति (किरियापुत्री) भवन निर्माण पूरा गर्न महायज्ञ आयोजना गर्न लागिएको बताउनुभयो । महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको उहाँको भनाइ थियो । यही जेठ १० गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा मञ्जरी राधिका दासीबाट कथावाचन हुने छ । समाजका महासचिव नारायणप्रसाद न्यौपानेले महायज्ञ सफल पार्न १७ उपसमिति गठन गरिएको बताउनुभयो । विसं २०६९ मा पुराणवाचनबाट उठेको रकमबाट उक्त भवन निर्माण कार्य सुरु गरिएको थियो । तर आर्थिक अभावका कारण भवनले पूर्णता पाउन सकेको थिएन । सङ्कलित दानबाट पुस्तकालय समेत स्थापना गर्ने उद्देश्य रहेको छ । हालसम्म भवन निर्माण गर्न रु एक करोड ६३ लाख खर्च भएको समाजका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो । रासस
