कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खननमा रोक
२०८२ असाढ ४ , बुधवार

कास्की ः कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन तीन महिनाका लागि बन्द हुने भएको छ ।
जिल्ला अनुगमन समितिको आजको बैठकले यही असार १ देखि आगामी भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख लीलाधर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ को कानुनी प्रावधानअनुसार सो निर्णय गरिएको हो ।
सो मापदण्डअनुसार असार, साउन र भदौ महिनामा उत्खनन तथा सङ्कलन कार्य गर्न नपाइने उल्लेख छ । समन्वय प्रमुख अधिकारीले सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो । विकास निर्माणका काममा बाधा नपुग्ने गरी विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेकाले निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र स्थानीय तहलाई आग्रह गरिएको छ ।
उहाँले भन्नुभयो, “बर्खायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने प्रावधान छ । यसको अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही हुनेछ । व्यवसायी, आपूर्तिकर्ता र सरोकारवाला सहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गरेका छौँ ।”
बैठकले नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्यसम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाँकी मौज्दात सम्बन्धित पालिकाले जफत गरी लिलाम गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न जिल्लाका सम्पूर्ण पालिकालाई अनुरोधसमेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताउनुभयो ।
यसैगरी जिल्लामा सञ्चालनमा रहेका खानी, क्रसर तथा प्रशोधन उद्योगले असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्वजनिक गर्नुपर्ने छ । साथै सोको जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने व्यवस्थालाई कडाइका साथ अनुगमन गरिने निर्णय गरिएको छ । रासस
प्रकाशन मिति : २०८२ असाढ ४ , बुधवार