‘जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा’
२०८२ बैशाख ३ , बुधवारवीरगञ्ज (पर्सा) ः खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा देखिएको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण देशका पहाडी र हिमाली क्षेत्रमा पानीका मुहान सक्दै गएको र तराई–मधेसमा जमिन मुनिको पानीको सतह घट्दै गएको उल्लेख गर्दै भविष्यमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जलवायु परिर्वतन र भूकम्पका कारण पानीका मुहान सुक्दै गएका छन् र तराई–मधेसमा चापाकल सुक्न थालेका छन् । त्यसको दीर्घकालीन समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको छ ।” मन्त्री यादवले खानेपानीको समस्या गर्न एसियाली विकास बैंक (एडिबी)को सहकार्यमा वीरगन्जमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानीको समस्या समाधान गर्न एडिबीको सहकार्यमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । परियोजना पूरा भएपछि नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ ।” तराई–मधेसमा देखिएको खानेपानीका समस्यालाई मध्यनजर गर्दै यहाँका नागरिकले अब चापाकलको भर पर्नु नपर्ने र प्रत्येक नागरिकलाई पाइपमार्फत निःशुल्क र सुरक्षित पानी आपूर्ति गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले ढल व्यवस्थापनका लागि रु एक अर्ब ५० करोड बजेट छुट्याइएको र वीरगन्ज महानगरपालिकाका वडा नं २०, ३०, ३१, लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।रासस