हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न सहज

हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न सहज

२०८२ जेष्ठ १४ , बुधवार

दमौली (तनहुँ), ११ जेठः जिल्लाका विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादन बिक्री गर्न सहज भएको छ । जिल्लास्थित भानु नगरपालिका–२ नारेश्वरटारमा सञ्चालनमा आएको हाटबजार स्थानीय उत्पादन बिक्री गर्न सहयोगी बनेको हो ।

साथै आँबुखैरेनी गाउँपालिकामा सञ्चालित हाटबजारले स्थानीय उत्पादन बिक्रीमा सहजीकरण गरिरहेको छ । स्थानीय किसानले उत्पादन गरेका सामग्री बिक्रीका लागि यही जेठ ३ गते शनिबारदेखि हाटबजार सञ्चालन गरिएको हो । उक्त हाटबजार प्रत्येक साताको शनिबार सञ्चालन हुनेछ ।

नारेश्वरटार हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिले भानु नगरपालिकाको सहकार्यमा हाटबजार सञ्चालन गरेको समितिका अध्यक्ष विष्णुप्रसाद मिश्रले जानकारी दिनुभयो । हाटबजारमा नगरभित्रका कृषिउपज ल्याएर बिक्री गर्न सकिने उहाँले बताउनुभयो ।

हाटबजार सञ्चालनको दोस्रो साता बेसार, तरुल, तिलको पिना, टमाटर, करेला, निउरो, कर्कलो, पिडालु, कटहर, तोरीको सागलगायत कृषिउपज बिक्री गरिएको छ । स्थानीय उत्पादन खरिद गर्न स्थानीयवासीको घुइँचो देखिएको मिश्रले बताउनुभयो ।

हाटबजार दिउँसो २ः०० बजेदेखि साँझसम्म सञ्चालन हुन्छ । हाटबजारले किसानलाई प्रोत्साहन गरी स्थानीय उत्पादनलाई बढवा गर्ने र उपभोक्ताले पनि रोजेको कृषिउपज सहज रूपमा खरिद गर्नसक्ने भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । हाटबजारले किसान र उपभोक्तालाई जोड्ने पुलका रूपमा काम गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “किसानलाई आफूले उत्पादन गरेका कृषिउपज तथा अन्य सामग्री बिक्रीका लागि बजार अभाव नहोस् भनेर हाट–बजार सञ्चालनमा ल्याएका हाँै । यसले किसानलाई प्रोत्साहन गर्नेछ ।”

आँबुखैरेनी–३ मा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ । हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि बिहानैदेखि घुइँचो लाग्ने गरेको छ ।

गत वर्षको फागुनदेखि सञ्चालित उक्त हाटबजारले किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै उत्पादित सामग्री बजारीकरणका लागि प्रभावकारी बनेको छ । हाटबजारले आँबुखैरेनीको मात्रै नभइ आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

आँबुखैरेनी–६ प्यघुरका मिलन गुरुङले हाटबजार कृषिउपज तथा अन्य दैनिक उपभोग्य वस्तु बजारीकरणका लागि सहयोगी बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा रु एक भए पनि बढी मूल्य पाउने गरेका छौँ । सहज रूपमा वस्तुको बिक्री वितरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।”

गाउँपालिकाका जुनसुकै वडाका किसानले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्नसक्ने छन् ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ १४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य