दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड

दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड

२०८१ माघ १६, बुधवार

धरान (सुनसरी) : धरान उपमहानगर–१४ विजयपुरमा रहेको पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा स्वास्थानीको व्रत सुरु भएपछि बिहानैदेखि दर्शननार्थीको भीड लाग्ने गरेको छ । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण मन्दिरमा पूजा गर्ने भक्तजनको बाक्लो उपस्थितिका कारण भिड लाग्ने गरेको छ ।

मन्दिरका पूजारी विश्वराज खनालका अनुसार स्वस्थानीको समयमा व्रतको अवधिमा मन्दिरमा दर्शन गर्नका लागि आउनेको भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “स्वस्थानी सुरु भएपछि हिजोआज मन्दिरमा बिहानैदेखि पूजा गर्नका लागि भक्तजन आउने गरेकाले मन्दिरमा व्रतालुको भिड लाग्ने गरेको छ ।”

मन्दिरमा दर्शन गर्न आउनुभएका धरान–१६ का राधिका भट्टराईले आफू पनि दैनिकजसो मन्दिर आउने गरेको बताउनुभयो । “यस मन्दिरमा पूजाआज गर्दा मनले चिताएका कुरा पूरा हुँदै गएको छ त्यसैले फुर्सद हुँदा सधँैजसो मन्दिर आउने गर्छु”, उहाँले भन्नुभयो ।

विराटनगरका कमला खत्री पनि स्वस्थानी व्रतको अवसरमा मन्दिरमा दर्शन गर्न आएको बताउनुभयो । विराटनगरकै मिनु बस्नेत पनि कमला जस्तै स्वस्थानीको अवसरमा दर्शन गर्न दन्तकाली मन्दिर आएको बताउनुहुन्छ ।

स्वस्थानी व्रतकथा अनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राणत्याग गरेपछि शोकमा पर्नुभएका महादेव सतीदेवीको मृत शरीर आफ्नो काँधमा बोकेर भौँतारिदै हिँड्ने क्रममा सतीदेवीको शरीरका अङ्ग खसेको ठाउँमा शक्तिपीठ स्थापना भयो । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख भएको पाइन्छ ।

यस ठाउँमा यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वविश्वास छ । स्वस्थानी व्रतकथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको बुढापाकाको भनाइ छ । यहाँको शक्तिपीठ कथा सुनेर महत्व बुझेका नेपाल भारतलगायत टाढाटाढाबाट दर्शन गर्नका लागि दर्शनार्थी यहाँ आउने गरेको पूजारी विश्वराज खनालको भनाइ छ । अहिले यस मन्दिरमा आठजना पूजारी हुनुहुन्छ ।

पूजारी कमल भट्टराईका अनुसार अहिले यस मन्दिरमा दैनिकजसो दुई सयभन्दा बढी दर्शनार्थी आउने गरेका छन् भने शनिबार र मङ्गलबार पाचँदेखि सात सयको हाराहारीमा दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो । “दन्तकाली मन्दिरमा प्रत्येक वर्ष असोज, माघ, चैत र असार महिनामा विधिवत् रुपमा पूजाअर्चना गर्ने गरिन्छ । त्यसमध्ये पनि विजयादशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ १६, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य