चिया निर्यात ४० प्रतिशतले बढ्यो

चिया निर्यात ४० प्रतिशतले बढ्यो

२०८२ असाढ ११ , बुधवार

चिया निर्यात ४० प्रतिशतले बढ्यो भद्रपुर (झापा) असारः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ । चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आव २०८०÷८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१÷८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले घटेको छ । चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०÷८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता नौ दशमलव ६, प्लाइउड ११ दशमलव ६० प्रतिशत र मोलासिस निर्यातमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको छ । रासस

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य