चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण
२०८१ फाल्गुन २८, बुधवारकाठमाडौँ ः चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मिनभवनस्थित अस्पताल परिसरमा आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् ।
फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि रु दुई करोड मूल्य बराबरको आँखा उपचारसँग सम्बन्धित उपकरण प्राप्त भएको जानकारी दिँदै आँखाका उपचारलाई प्राथमिकता दिई विशिष्टीकृत सेवा प्रदान गर्ने पक्षमा अस्पताल रहेको बताउनुभयो । आँखा रोगसम्बन्धी रोगको उपचारका लागि पहिलो चरणमा उपकरण उपलब्ध हुनेछ भने त्यसपछि चिकित्सकलाई तालिम र प्रशिक्षणको व्यवस्था चीनले गर्ने भएको छ । तालिमपश्चात दुवै देशका चिकित्सकले शल्यक्रियासहितका उपचार सेवा प्रदान गरी बिरामीलाई सहयोग पु¥याउने सन्दर्भमा सम्झौता भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । सो सम्झौतापत्रमा कार्यकारी निर्देशक पौडेल र लाइफलाइन एक्सप्रेस हङ्कङ फाउन्डेशनका अध्यक्ष ताम यु चुङले हस्ताक्षर गर्नुभएको छ । उक्त अस्पताल चीनको सहयोगमा १६ वर्षअघि निर्माण भई सञ्चालन छ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई एसियाकै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट केन्द्रका रुपमा विकास गर्दै लैजाने योजना बनाएको छ । करिब तीन सय शय्याको निजामती अस्पतालमा दैनिक सरदर एक हजारको सङ्ख्यामा बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालमा अहिले बिरामीको ठूलो चाप देखिन्छ । निजी क्षेत्रका अन्य अस्पतालका तुलनामा निजामती अस्पतालले कम शुल्कसहित गुणस्तरीय सेवा उपलब्ध गराइरहेको अस्पतालको दाबी छ । रासस