व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग
२०८२ बैशाख १७ , बुधवारदोधारा चाँदनी (कञ्चनपुर) ः यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुग्नुभएको थियो ।
काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उहाँ स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किनुभयो । काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किनुभएका उहाँले त्यसयता विदेश जाने योजना बनाउनुभएको छैन । “काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ”, वडायकले विगत सम्झँदै भन्नुभयो, “खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ ।” तालिमपछि खेतीमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोड्नुभएको छ । उहाँ हाल वार्षिक रु २६ लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आउनुभएको छ । वडायकले भन्नुभयो, “खेती विस्तार गरेर वार्षिक रु एक करोडसम्म कमाउने लक्ष्य राखेको छु ।” उहाँले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु एक करोड बढी मूल्यका कृषियन्त्रहरु खरिद गर्नुभएको छ । उहाँले भन्नुभयो, “ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै रु दश लाखमा ड्रोन खरिद गरेको छु ।” उहाँले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गर्नुभएको छ । उहाँले भन्नुभयो, “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।” ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ । उहाँलाई खेतीमा उहाँका परिवारका सदस्यहरुले समेत सहयोग गरेका छन् । उहाँले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गर्नुभएको छ । “सामान्य किसानले एक बिघा जग्गामा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब रु १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भन्नुभयो, “प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ ।” उहाँले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताउनुभयो । वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित हुनुभएको थियो । भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उहाँ सम्मानित भइसक्नुभएको छ । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु”, उहाँले भन्नुभयो, “त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ ।” रासस