भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

२०८१ माघ ३०, बुधवार

चितवन, २५ माघ : भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा ३० प्रतिशत हाराहारी सेतो अण्डा देखिएको छ ।” रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ ।

पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताउनुभयो । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उहाँको भनाइ छ ।

सङ्घका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्याल बताउनुहुन्छ । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उहाँले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ ३०, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य