वैशाख शुक्ल चतुर्दशीः नृसिंह जयन्ती

वैशाख शुक्ल चतुर्दशीः नृसिंह जयन्ती

२०८२ बैशाख ३१ , बुधवार

काठमाडौँ ः वैदिक सनातन हिन्दू धर्मअनुसार गत आइतबार नृसिंह जयन्ती मनाइयो ।

हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उपद्रो मच्चाउन थाले । हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो । दैत्यराज हिरण्यकश्यपुको वध गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा ब्रम्हाजीले इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरू वर माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले “घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस) बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर (जनावर) बाट, हातबाट र हतियारबाट नमर्ने वरदान मागे । हिरण्यकश्यपुको तपस्या घोर भएकाले ब्रह्माजीले मागेको वरदान दिनुभयो ।

हिरण्यकश्यपुले तीनै लोकमा कब्जा जमायो । पूरा सृष्टिको मालिक म नै हो । मभन्दा ठूलो अरू कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो । हिरण्यकशिपुको घरमा भक्त प्रह्लादको जन्म भयो । भक्त प्रह्लाद दैत्य राज हिरण्यकश्यपु जस्ताको छोरा भएर पनि सानैदेखि हरि भक्तिमा रुचि राख्न थाले । हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठाए । तर, प्रह्लाद त्यहाँ पनि पढाइ छोडेर हरि भक्तितिरै लागे । तर प्रह्लादले हरि भक्तिभन्दा ठूलो केही ज्ञान छैन भनी सुनाए ।

हिरण्यकश्यपु रिसाएर प्रह्लादलाइ बिभिन्न तरिकाले मार्ने प्रयास गरे तर असफल भए । रिसले चुर भएको हिरण्यकश्यपुले ‘यदि तेरो हरि सबै ठाउँमा छ भने मेरो सामुन्ने हरिलाई देखा’ भने । प्रह्लादले हरिको ध्यान गर्दै विष्णुको आह्वान गरे । केही छिनमै भगवान् विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट हुनुभयो । भगवान् नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघि सर्नुभयो । नृसिंह भगवान्को आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो ।

नृसिंह न जनावर थिए न मान्छे । जतिखेर हिरण्यकश्यपुलाई मारियो । त्यो समय सन्ध्या समय थियो । त्यो समयमा न त घाम थियो, न रातको अँध्यारो । तब सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको बीच ढोकामा आफ्नो काखमाथि राखेर नङ्ग्रा धसी मार्नुभयो । ब्रह्माजीको सबै वाचा मिलाएर मारेपछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो । नृसिंहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदि देवी देवता आएर प्रार्थना गर्नुभयो ।

तर क्रोध झन् बढ्दै गयो । अन्तमा प्रह्लादले प्रार्थना गर्दा नृसिंहको रिस शान्त भयो । प्रह्लादलाई ज्ञान दिएर नृसिंह भगवान् अन्तध्र्यान हुनुभयो । प्रह्लादले पनि हरि भक्तिमा ध्यान दिएर राज पाठ सम्हाले ।

भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाइन्छ ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख ३१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य