बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु
२०८१ माघ १६, बुधवार
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डगौरा) समुदायको बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ ।
सोही प्रयासस्वरूप यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ । उहाँले सैद्धान्तिक सहमति प्राप्त भइसकेपछि थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा आयोजित माघी महोत्सव कार्यक्रममा थारू समुदायको संस्कृति संरक्षणका लागि बडघर प्रथालाई मान्यता दिनेगरी ऐन बनाउन लागिएको जानकारी गराउनुभयो । यस प्रथाले कानुनी मान्यता पाउन सकेमा कैलाली र कञ्चनपुरमा रहेका थारू (डगौरा) समुदायको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । गाउँको एक मुख्य व्यक्तिलाई बडघर अर्थात् भलमन्साका रूपमा छनौट गर्नुपर्ने प्रचलन थारू समुदायमा शदियौँदेखि रहेको छ । गाउँवासीले यो भूमिकामा रहने व्यक्तिले लाए अह्राएको काम गर्नुपर्ने हुन्छ । हरेक वर्ष माघी पर्व सुरू भएसँगै थारूबस्तीमा भलमन्साको छनोट गरिन्छ । भलमन्सा चयन भएसँगै निजको घरलाई ‘बडघर’का रूपमा चिन्ने गरिन्छ । ‘माघी’लाई यस समुदायमा नयाँ वर्ष आरम्भका रूपमा उल्लासपूर्वक मनाउने गरिन्छ । भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया वा गोला (चिट्ठा) प्रक्रिया अपनाएर छनौट गर्ने गरिन्छ । भलमन्साको मातहतमा गुरुवा, चिराकी, चौकीदार, अघरिया जस्ता पदमा समेत विभिन्न व्यक्तिको छनोट गरिन्छ । ‘गुरुवा’ (वैद्यको काम गर्ने)ले मानिस, गाईवस्तु र अन्नबालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । ‘चिराकी’ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम गर्छ । ‘चौकीदार’ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनु परेमा खबर गर्ने र ‘अघरिया’ले भलमन्साको सहायकका रूपमा काम गर्नुपर्ने परम्परा छ । बडघरले लाए अह्राएका कामहरू गाउँका अन्य सदस्यले मान्नुपर्ने प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने प्रचलन थारू गाउँमा रहेको पाइन्छ । यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँको अनुशासन पनि कायम गर्नमा टेवा पुग्ने गरेको थारू बुद्धिजीवीको भनाइ छ । थारू गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुनेगर्छ । कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ । समग्र गाउँको संरक्षण, विकास निर्माण, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था, गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक सहयोग गर्ने÷गराउने जस्ता काम यसरी छनोट भएका नेतृत्वले गर्दछन् । भलमन्साको आदेशमा गाउँका यावत् काम गर्न जानुपर्ने कामलाई ‘बेगारी’ जाने भनिन्छ । बेगारी जान नसक्नेले जरिवानासमेत तिर्नुपर्ने हुन्छ । रासस