बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास

बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास

२०८१ माघ २३, बुधवार

गण्डकी : पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।

किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आउनुुभएकी देवी पराजुलीले जानकारी दिनुुभयो । सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेरगरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उहाँले बताउनुभयो । त्यसयता अत्यन्त आस्था एवं विश्वासका साथ यहाँ पूजाआजा हुँदै आएको छ ।

यहाँस्थित सिद्ध गणेशको शिला रहस्यात्मक रूपमा बढिइरहेको प्रत्यक्ष अनुभव गरेको ८५ वर्षीय काशीनाथ पण्डितले बताउनुभयो । “म सानोमा मामाघर जाने क्रममा उक्त मन्दिर भएर धेरै पटक ओहोरदोहोर गरेको छु”, उहाँले बाल्यकालको अनुभव सुनाउँदै भन्नुुभयो, “पाँच÷छ वर्षको उमेरमा मैले देखेको गणेश शिला अहिले धेरै ठूलो भएका अनुुभव छ ।”

अहिलेको व्यवस्थित मन्दिर बनाउने क्रममा उक्त शिलाको केही भाग ढलानबाटसमेत पुरिएको जानकारी दिँदै उहाँले ढलानमाथि करिब एक हात लम्बाइमा शिला रहेको बताउनुुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत गगनगौंँडा क्षेत्रबाट सवारीसाधनमा करिब २५ मिनेटको यात्रा गरेपछि यो मन्दिर पुग्न सकिन्छ । गगनगौँडाबाट राजाको चौतारा पुगी त्यहाँबाट तालखोलाको पुल तरेपछि मणि हुँदै बडहरेको सिद्धि गणेश मन्दिर पुग्न सकिने स्थानीय घिमिरेले जानकारी दिनुुभयो । करिब तीन दशक अघिसम्म बाक्लो बस्ती रहेको बडहरेमा त्यसयता भने बढ्दो बसाइँसराइले बस्ती शून्य हुँदै गएको उहाँले बताउनुुभयो ।

उत्तरतर्फ सुन्दर हिमालको दृश्यसँगै अगाडि देखिने मनोरम तालतलैया एवं पोखरा उपत्यका अवलोकन गर्न सकिने यो ठाउँ बढ्दो बसाइँसराइले प्रत्यक्ष प्रभावित बनेको उहाँले बताउनुुभयो । बाटो, यातायात लगायत सुविधा गाउँमा पुगिसकेका अवस्थामा यहाँको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

घिमिरेका अनुसार विशेष गरी हरितालीका तीज पछिको चौँथीका दिनमा गणेश भगवान्को जन्मदिनका रूपमा मानिएको गणेश चतुर्थीमा यहाँ धुमधामसँग पूजाआजा हुने गरेको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ २३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य