अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
२०८१ माघ १६, बुधवारकाठमाडौँ : सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १५ गते सोही स्थानमा श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा महानगर पालिकाका विभिन्न कर्मचारी, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । रासस
