पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने

पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने

२०८२ जेष्ठ ७ , बुधवार

चितवन ः जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरुलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपायहरु र जलवायु परिवर्तनमा पशु चौपायले पार्ने असरका बारेमा जानकारी गराइने छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घको सक्रियता एवम् हेफर इन्टरनेशनलको सहयोगमा किसानलाई तालिम दिन लागिएको हो । यसको सुरुआती स्वरूप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवम् प्राविधिक र निजी क्षेत्रका प्राविधिकलाई आइतबारदेखि तालिम सुरु गरिएको छ । तीन दिनसम्म पशु चिकित्सक एवम् प्राविधिकलाई तालिम दिएर उनीहरुले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जलवायुका कारण दुध उत्पादनमा परेको असर र पशुका कारण जलवायुमा पर्ने असरको विषयमा ज्ञान लिई दुवैको समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार यसरी तालिम लिएका पाँच हजार किसानले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्ने छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुवँरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर बनाउन तालिम आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार पाँच हजार किसानबाट अन्य किसानले पशुपालन अभ्यास सिक्न पाउने छन् । हेफर इटरनेस्नलका कार्यक्रम संयोजक डा लेखनाथ अधिकारीले चितवनका किसानलाई आत्मनिर्भर बनाउन पशुपालन क्षेत्रमा काम गरिएको बताउनुभयो । यहाँको असल अभ्यासले देशलाइनै नतिजा दिने गरी काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानलाई असल पशुपालन अभ्यास अहिलेको आवश्यकता रहेको बताउनुभयो । यसका लागि तीनै तहको सरकारले सहजिकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

बागमती प्रदेश दुग्ध विकास बोडका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध उत्पादनका क्षेत्रमा काम गर्न यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गर्नुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ ७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य