१०औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी सम्पन्न
२०८१ फाल्गुन १४, बुधवारकाठमाडौँ : काठमाडौंको भृकुटीमण्डपमा यही फागुन ८ गतेदेखि सञ्चालन भइरहेको १०औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी १२ गते सम्पन्न भएको छ । निर्माण सामग्रीबारे उपभोक्तालाई जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनीको चालिस हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्र्किटेक्ट, इन्जिनियरस, कन्ट्र्याक्टर, बिल्डर, इन्टिरियर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताइएको छ । साथै निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यतिm तथा संस्था र सर्वसाधरणहरुको बढीभन्दा बढी सहभागिता रहेको थियो । मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले निर्माण क्षेत्रका विज्ञ तथा सरोकार भएकाहरूका साथै आमनागरिक गरी चालिस हजारभन्दा बढीले निर्माणसम्बन्धी सामग्रीबारे जानकारी हासिल गरेको बताउनुभयो । प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टल राखिएका उहाँले बताउनुभयो । “प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउनुभयो । निर्माण सामाग्री, निर्माणमा प्रयोग हुने आधुनिक मेसिनरी, प्रिफ्याब तथा युपिभिसीसम्बन्धी सामग्री र उपकरणलगायत विषयमा राखिएकाले अवलोकनकर्ताहरू निकै लाभान्वित भएको हामीले महसुस गरेका छौँ”, भट्टराईले भन्नुभयो । नेपोभिट टायल्स कम्पनीका अध्यक्ष स्वम्भूनाथ झाले प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिका बारेमा उपभोक्तालाई जानकारी दिन सहयोग पुगेको बताउनुभयो । नेपालमा उत्पादित सामानहरू स्वदेशी बजारमा र अन्तरराष्ट्रिय बजारसम्म पु¥याउँदै विदेशी टायल्स प्रतिस्थापन यस प्रदर्शनीले सहयोग पुग्ने उहाँको विश्वास छ । झाले भन्नुभयो, “उपभोक्ताले पनि एकै छानामुनि निर्माणका सबै सामग्रीबारे जानकारी लिने तथा बिक्रेता र क्रेताबीचको सम्पर्क स्थापित गर्न पनि प्रदर्शनीले सहयोग गरेको छ । आगामी दिनहरूमा पनि यस्तै प्रदर्शनीको आवश्यकता छ ।” झाले नेपालमा मात्रै नभएर आगामी दिनमा स्वदेशी टायल्सलाई अझै बढी गुणस्तरीय बनाएर विदेशी बजारमा निर्यातको सम्भावना खोजिने बताउनुभयो । “अहिले हाम्रो उत्पादनले उपभोक्ताको माग धान्न सकेको छैन । विस्तारै उत्पादन बढाएर स्वदेशी माग पूरा गर्दै निर्यातको लक्ष्य लिनुपर्छ”, उहाँले भन्नुभयो । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । रासस
